काठमाडौं – काठमाडौं महानगरपालिका शिक्षा विभागले शैक्षिक सत्र २०८२/८३ का लागि संस्थागत विद्यालयहरूमा कक्षा ११ का लागि छात्रवृत्तिको सूचना प्रकाशित गरेको छ। महानगरभित्रका ३९० विद्यालयमा कुल ४,६२४ सिट उपलब्ध छन्।
छात्रवृत्तिका लागि असार १८ गते (जुलाई २, २०२५) बिहान १० बजेदेखि असार २७ गते (जुलाई ११, २०२५) राति ११:५९ बजेसम्म अनलाइन आवेदन दिन सकिनेछ। छात्रवृत्ति परीक्षा साउन ३ गते (जुलाई १९, २०२५) बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।
यो छात्रवृत्ति व्यवस्थापन, विज्ञान, मानविकी, कानुन र शिक्षा लगायतका विभिन्न संकायमा उपलब्ध छ। कुल सिटमध्ये ४०% सामुदायिक विद्यालयका विद्यार्थीलाई, ५% संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेकालाई, ९% काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दालाई, र १% ल्यान्डफिल्ड प्रभावित क्षेत्रका विद्यार्थीलाई छुट्याइएको छ।
आवेदन निःशुल्क छ र परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन्। परीक्षा उत्तीर्ण हुन न्यूनतम ४०% अंक ल्याउनुपर्नेछ र यसमा कुनै नेगेटिभ मार्किङ हुनेछैन। एसईईमा न्यूनतम १.६ जीपीए प्राप्त गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।