काठमाडौं – नेपालका दुई प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक, आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्राइभेट लिमिटेड (खल्ती) बीचको मर्जर प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। मर्जरपछि बनेको नयाँ कम्पनी आइएमई खल्ती लिमिटेडले आगामी साउन १ गते बिहीबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकबाट असार ४ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १२ गते अन्तिम स्वीकृति प्राप्त भएसँगै दुई कम्पनीले एकीकृत कारोबारको मिति तय गरेका हुन्। दुवै कम्पनीले संयुक्त रूपमा जारी गरेको सूचना अनुसार, खल्ती प्राइभेट लिमिटेडको सम्पूर्ण सम्पत्ति तथा दायित्व आइएमई डिजिटल सोलुसन लिमिटेडले सकार्ने गरी मर्जर प्रक्रिया टुङ्गिएको हो।
मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३, पानीपोखरीमा रहनेछ। यो रणनीतिक मर्जरले नेपालको डिजिटल भुक्तानी क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई उन्नत सेवा र व्यापक पहुँच प्रदान गर्नेछ।